म्याग्दीको नारच्याङमा अब सशस्त्र प्रहरीको विपद् व्यवस्थापन एकाइ

म्याग्दी | फागुन १४, २०८०

म्याग्दीको नारच्याङमा अब सशस्त्र प्रहरीको विपद् व्यवस्थापन एकाइ

म्याग्दी:     म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन ‘बेस’ (एकाइ) स्थापना भएको छ। 


प्रहरी निरीक्षकको नेतृत्वमा विपद् व्यवस्थापनसम्बन्धी तालिमप्राप्त २५ सशस्त्र प्रहरीको टोलीको एकाइ स्थापना भएको हो। बेनी–जोमसोम–कोरला राष्ट्रिय राजमार्गका साथै म्याग्दी, मुस्ताङ, बाग्लुङ, पर्वतमा विपद्को अवस्थामा खोज तथा उद्धार कार्यलाई छिटो बनाउने उद्देश्यले बेस राखिएको सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरका प्रहरी नायब उपरीक्षक श्यामकुमार पौडेलले जानकारी दिए।


‘दुर्घटना, बाढी पहिरो, नदीमा डुबेको, आगलागीजन्य विपद्को अवस्थामा खोज तथा उद्धारलाई प्रभावकारी बनाउन तालिमप्राप्त जनशक्तिको व्यवस्थापन गरेर एकाइ राखिएको हो,’ उनले भने, ‘पायक पर्ने र नजिकै तालिमप्राप्त जनशक्तिको टोली भएपछि खोज तथा उद्धार कार्य प्रभावकारी हुनेछ।’


यसअघि म्याग्दी, मुस्ताङ, पर्वत र बागलुङमा खोज तथा उद्धारका लागि पोखरा र कुरिनटारबाट सशस्त्र प्रहरी बलको टोली बोलाउने गरिएको थियो। टाढाबाट टोली आउन ढिलाइ हुँदा खोज तथा उद्धार कार्यमा ढिलाइ हुने गरेको थियो। एकाइमा विपद् व्यवस्थापनसम्बन्धी तालिमप्राप्त जनशक्ति रहेका सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक फडिन्द्र गोलेले बताए।


स्तरोन्नतिको अन्तिम चरणमा रहेको बेनी–जोमसोम–कोरला सडकमा हुने दुर्घटना, कालीगण्डकी र आसपासका नदीमा डुबेर बेपत्ता हुने, भिरमा अड्किने, पदयात्रामा हराएकाको खोजी र हिमाल आरोहणका टोलीलाई पर्ने समस्या समाधानका लागि विपद् व्यवस्थापन बेस भएपछि सहज हुने अपेक्षा गरिएको छ।


गत असोज महिनायता बेनी–जोमसोम सडकबाट मोटरसाइकलसहित भिरमा खसेका एक जना पर्यटक र कालीगण्डकीमा खसेर स्थानीय अर्का युवाका ज्यान गएको छ। नारच्याङमा जलविद्युत् आयोजनाले बनाएको भवनमा सशस्त्रको बेस राखिएको छ । अन्नपूर्ण गाउँपालिकाले भवनको व्यवस्थापन गरेको हो। सो भवनमा कोरोना महामारीको समयमा अस्थायी अस्पताल सञ्चालन भएको थियो।


यसैबीच सशस्त्र प्रहरीले म्याग्दीमा समुदायस्तरमा खोज तथा उद्धारका लागि आधारभूत सीप हस्तान्तरण गर्न थालेको छ। छ स्थानीय तहबाट पाँचरपाँच जनालाई विपद् व्यवस्थापनसम्बन्धी आधारभूत तालिम दिन लागिएको प्रहरी नायब उपरीक्षक पौडेलले बताए।


यही फागुन १६ र १७ गते गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितिमा बेनीस्थित म्याग्दी र कालीगण्डकी नदीको दोभानमा खोज तथा उद्धारको नमूना प्रदर्शनी गरिने उनले बताए। 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्